नियम ६५
बालबालिकाको सामाजिक पुनर्स्थापना तथा पारिवारिक पुनर्मिलन
(१) बाल गृहले बालबालिका अठार वर्ष उमेर पूरा भइसके पछि स्वतन्त्र रूपमा बस्न सक्ने गरी त्यस्ता बालबालिकालाई सामाजिक पुनर्स्थापना वा पारिवारिक पुनर्मिलन गराउनु पर्नेछ । (२) बाल गृहले बालबालिकाको बाबुआमा वा अभिभावक पत्ता लागेमा र बालबालिकाको उच्चतम: हित हुने भएमा देहाय बमोजिमको आधारमा समाजसेवी तथा बाल मनोविज्ञले दिएको प्रतिवेदनको आधारमा पारिवारिक पुनर्मिलन गराउनु पर्नेछ:-

(क) बालबालिकाको पारिवारिक संरचनाको लेखाजोखा,

(ख) बालबालिकाको स्वास्थ्य, शिक्षा, मनोसामाजिक अवस्था, बालबालिकासँग भएका सिप तथा क्षमता,

(ग) बालबालिकाको इच्छा तथा तयारीको अवस्था,

(घ) अभिभावक तथा नजिकका नातेदारको विवरण सङ्कलन तथा पहिचान,

(ङ): बालबालिकाले बढी विश्वास गर्ने आफन्तको पहिचान,

(च) बालबालिका र परिवारबीचको सम्बन्ध,

(छ) बालबालिका परिवारमा रहँदाको सम्भावित जोखिम,

(ज) बालबालिकाको संरक्षणको सुनिश्चितता,

(झ) बालबालिकाको पारिवारिक पुनर्मिलन गर्दा आवश्यक सहायताको विवरण ।

(३) उपनियम (२) बमोजिमको प्रतिवेदनको आधारमा बाल गृहले पारिवारिक पुनर्मिलन गर्दा सम्बन्धित स्थानीय तहको प्रतिनिधिको रोहबरमा गर्नु पर्नेछ । (४) पारिवारिक पुनर्मिलन गराउँदा बाल गृहले सम्बन्धित बाबुआमा वा अभिभावकसँग बालबालिका बुझिलिएको कागज र पुन बाल गृहमा नपठाउने कबुलियतनामा समेत गराउनु पर्नेछ ।

(५) पारिवारिक पुनर्मिलन हुन नसकेमा वा निजको माध्यमिक तहसम्मको पढाई पूरा भएको अवस्थामा बाल गृहले निजको वैकल्पिक व्यवस्था गर्नु पर्नेछ ।

(६) उपनियम (५) बमोजिमको वैकल्पिक व्यवस्थाको ढाँचा र स्वरूप परिषद्ले निर्धारण गर्नेछ ।

(७) बाल गृहले अठार वर्ष उमेर पुगेका सोही बाल गृहका बालबालिकालाई रोजगारी दिएमा नियुक्ति र पारिश्रमिक, सेवा र सुविधा समेतको प्रत्याभूति हुने गरी व्यवस्था गर्नु पर्नेछ ।

(८) बाल गृहमा रहेका बालबालिका अठार वर्ष उमेर पूरा भइसकेपछि स्वतन्त्र रुपमा बस्न चाहेमा बाल गृहले स्वतन्त्र सामूहिक बसोबासका लागि सहयोग गर्न सक्नेछ ।